विद्या र बुद्धिकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गर्दै आज देशभर श्रीपञ्चमी पर्व श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वलाई वसन्त पञ्चमी पनि भनिन्छ।
आजको दिन सरस्वती पूजा गरे विद्या, बुद्धि र सिर्जनशीलता अभिवृद्धि हुने धार्मिक विश्वास रहिआएको छ। त्यसैले देशभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि भक्तजन, विशेषगरी विद्यार्थीहरूको उल्लेखनीय भीड देखिएको छ।
चन्द्रमाजस्तो गोरो वर्ण, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, वागीश्वरी, जगन्माता, बुद्धिदात्री, वरदायिनी, भुवनेश्वरी आदि नामले पुकार्ने गर्छन्। विद्या र सिर्जनाकी देवी भएकाले विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारलगायतले आफ्ना अध्ययन साधनाका सामग्री किताब, कापी, कलम, वाद्ययन्त्र आदिलाई सरस्वतीको प्रतीक मानी पूजा गर्छन्।
यस दिन साना बालबालिकालाई अक्षर लेख्न सुरु गराउने अक्षरारम्भ संस्कार गर्ने चलन छ। आजको दिन पढाइ सुरु गराए राम्रो विद्या प्राप्त हुने विश्वासका कारण धेरै अभिभावकले आफ्ना बालबालिकालाई पहिलो पटक अक्षर चिनाउने परम्परा कायम राखेका छन्।
धार्मिक मान्यता अनुसार श्रीपञ्चमी अत्यन्त शुभ दिन मानिन्छ। यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने, बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने विश्वास छ। यद्यपि यस वर्ष शुक्र अस्त भएकाले विवाह र व्रतबन्धजस्ता कार्य नगरिने जनाइएको छ। यस अवसरमा बालबालिकाको नाक–कान छेड्ने परम्परा पनि रहिआएको छ।
काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, नीलसरस्वती, हनुमानढोका तथा ललितपुरको लेले लगायत देशका विभिन्न स्थानस्थित सरस्वती मन्दिरमा आज विशेष पूजा–आराधना भइरहेको छ। कतिपय भक्तजनले सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निले विद्या बढ्ने विश्वास समेत राख्ने गरेका छन्।
सूर्य उत्तरतिर लाग्न थाल्ने र वसन्त ऋतुको आगमनको संकेत दिने भएकाले आजको दिनलाई वसन्तको सुरुवातको प्रतीकका रूपमा पनि लिइन्छ। यही कारणले यो पर्वलाई केवल धार्मिक मात्र होइन, शिक्षा, संस्कृति र चेतनाको पर्वका रूपमा समेत महत्व दिइन्छ।
Source : educationpati

