अब सम्झनामा नेपाली साहित्यको इन्साइक्लोपेडिया


Shiva Regmi
नेपाली साहित्यको इन्साइक्लोपेडिया मानिन्थे उनी । मध्य बानेश्वरस्थित बासस्थानलाई उनले साहित्यिक खोज–अनुसन्धानको भव्य पुस्तकालय बनाएका थिए ।
कुनै पनि लेखक, कृति या साहित्यिक इतिहासको प्रसंग खोजीनीति गर्न उनीकहाँ पुग्दा उनी आफैंले फोटोकपी गरेर दिन्थे । उनै साहित्यिक पत्रकार एवं अन्वेषक शिव रेग्मीको ७७ वर्षको उमेरमा बुधबार मस्तिष्काघातका कारण निधन भएको छ ।
काठमाडौंको बत्तिसपुतलीमा जन्मेका रेग्मी सात वर्षअघि पत्नी बितेपछि मध्य बानेश्वरमा छोरीसित बस्दै आएका थिए । रेग्मीसँग लामो समय संगतमा रहेका साहित्यकार रोचक घिमिरेका अनुसार, बुधबार बिहान ११ बजेसम्म रेग्मी ठिकठाक थिए । आफैंले दारी काटेर घाममा आराम गर्न पल्टेका थिए । एकै छिनमा सास फेर्दा उनी घ्यारघ्यार गर्न थाले । तत्काल सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याइएको उनको एकाध घण्टामै निधन घोषणा गरिएको थियो ।
‘त्यहीँबाट सिधै पशुपति आर्यघाटमा दाहसंस्कार गरिसकेपछि ज्वाइँले फोनमा हामीलाई सुनाए,’ घिमिरेले भने, ‘नेपाली साहित्यिक अनुसन्धान क्षेत्रबाट एउटा नक्षत्र अस्तायो । नेपाली भाषा र साहित्यका लागि यो ठूलो क्षति हो ।’
घिमिरेका अनुसार, दुई दिनअघि मात्रै रेग्मीसँग फोनमा उनको कुराकानी भएको थियो ।
साहित्यिक पत्रिका ‘रचना’ मा रेग्मीले डेढ दशकयता ‘बसिबिँयालो’ स्तम्भ लेख्दै आएका थिए । अनुसार उक्त स्तम्भमा पछिल्लो समय रेग्मीले माध्यमिककालीन साहित्यिक पत्रकारिता अनि त्यति बेलाका पुस्तक र स्रष्टाबारे लेग्दै आएका थिए । ‘यसपटक के लेख्ने भन्ने सोध्नुभएको थियो उहाँले,’ घिमिरेले भने, ‘हिजो मात्रै पनि दिनभर एउटा पत्रिकाका लागि उहाँ अन्तर्वार्ता दिइरहनुभएको थियो । आज यस्तो दुःखद समाचार सुन्नुपर्‍यो ।’
रेग्मीले जीवनको महत्त्वपूर्ण समय सरकारी सेवासँगै नेपाली साहित्यको अध्ययन–अनुसन्धानमा बिताएका थिए । उनले गोरखापत्रमा १९६८ देखि १९९९ सम्म प्रकाशित निबन्धहरूको सम्पादन गरेर किताब निकालेका छन्, ‘एक से एक’ शीर्षकमा । पत्रिकामा छापिएका तर संकलन नगरिएका सिद्धिचरण श्रेष्ठ, शंकर लामिछाने, भूपी शेरचन लगायतका निबन्ध तथा कविताहरू पनि संकलन गरेर उनकै सम्पादनमा पुस्तक निकालेका थिए ।
जुद्धोदय माध्यमिक विद्यालय अध्ययन गरेका उनले एउटा माध्यमिक विद्यालयमा ४ वर्ष पढाएपछि सामुदायिक पुस्तकालयमा काम गर्न थालेका थिए । पुस्तकालयमा काम गर्दा गर्दै साहित्यक खोज–अनुसन्धान र अभिलेखीकरणमा उनको रुचि बढेको थियो । एलएलबी गरेका उनी कानुन मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालय हुँदै निर्वाचन आयोगसम्म काम गरेर उपसचिव पदबाट सेवानिवृत्त भएका थिए ।
साहित्य अन्वेषणकै लागि २०७१ को जगदम्बाश्रीबाट सम्मानित रेग्मीका ‘अतीतका पाना’, ‘खोजीनीति’, ‘महाकवि देवकोटाका भूमिका र निबन्ध’, ‘नेपाली कविताका भूमिका,’ ‘दृष्टि र दृष्टिकोण’, ‘साहित्यिक पत्रकापरिताको संक्षिप्त ग्रन्ध कोष’, ‘खोजीमेली’ लगायतका पुस्तक प्रकाशित छन् ।
‘अब उहाँले जीवनभर लाएर संकलन र अध्ययन गर्नुभएका सामग्रीको संरक्षण र सदुपयोग कसरी हुन्छ ?’ घिमिरेले भने, ‘यो ठूलो चिन्ताको विषय बनेको छ ।’
Published in Kantipur