शिक्षकको थोरै प्रयत्न, शैक्षिक सुधारका लागि कति धेरै अर्थपूर्ण !


शिक्षण पेशामा बिताएका ८ बर्ष भन्दा तौलका हिसाबले पछिल्लो दुई बर्ष अधिक महत्वको छ । मेरो ७ बर्षिय छोरो यही विद्यालयमा कक्षा २ मा पढ्छन् । मेरो मात्र होईन विध्यालयका प्रधानाध्यापक गंगा बहादुर महतका दुवै सन्तान यसै विद्यालयको क्रमशः २ र ३ कक्षामा पढ्छन् । यो विद्यालयका सबै शिक्षकका छोराछोरी जो विद्यालय उमेरका छन्, यसै विद्यालयमा पढ्छन् ।

बालबालिकालाई पुस्तकमा मात्र सीमित राख्नु भन्दा अतिरिक्त क्रियाकलापमा बढी संलग्न गराउनु पर्छ भन्नेमा विद्यालय सचेत छ । त्यसैले बालबालिकालाई पुस्तकको भारी थोरै मात्र बोकाइएको छ । हामी उनीहरूलाई अत्यावश्यक पुस्तक मात्र पढाउछौं ।

अभिभावकहरु सुरुमा अँग्रेजी माध्यममा पढाउन हामीलाई सुझाउँथे । हामीले नकार्न र स्वीकार्न दुबै सकेनौं बरु मझधार खोज्यौं । विकल्प स्वरुप प्राथमिक तहमा गणित, अंग्रेजी र विज्ञान सम्वध्द बिषयहरुको शिक्षण सहजीकरण अँग्रेजी माध्यममा गर्ने र बाँकी नेपाली र हाम्रो सेरोफेरो बिषय नेपाली माध्यममा गर्यौं । जसले दुबै भाषा मर्न दिएन । अहिले हामीले बालबालिकाको नेपाली भाषा सुधार्न विशेष क्याम्प नै चलाईरहेका छौं, जहाँ नेपाली भाषामा अलि अब्बल ज्ञान भएका शिक्षकहरुले बोलेका कुरा/भनेका कथा र उहाँहरुले लेखेको/टाईप गरेको देखाएर (जुन सामग्री इन्टर्याक्टिब प्यानल बोर्डमा देखाइन्छ) गृहकार्यको अतिरिक्त बोझ नथुपारी सिकाइन्छ । बालबालिकाले खेल खेलमै अलिकति पनि अप्ठ्यारो महसुस नगरिकनै सिक्छन् । अंग्रेजीको सन्दर्भमा पनि त्यसै गर्छौ तर एकैचोटी गर्दैनौं, एक पटकमा एउटा मात्रै गर्छौं ।

विद्यालयलाई प्रविधि मैत्री बनाईएको छ । हाँमीसंग १७ वटा इन्टर्याक्टिभ प्यानल बोर्डहरु छन् । विद्युत आपुर्तीमा समस्या भएको बेलामा सोलार ब्याकअपको ब्यवस्था गरेका छौं । सबै शिक्षकहरुसंग ल्यापटप छ जसमा उनीहरु घरैबाट शिक्षण सामाग्री बनाएर sपेन ड्राइभ वा गुगल ड्राइभमा राखेर ल्याएर प्रदर्शन गर्छन् । सबै शिक्षकहरुको सामाग्री प्रधानाध्यापक, तहगत संयोजक वा बिभागीय प्रमुखहरुले जाँचेर ठीक ठहर्याए पछि मात्र कक्षामा प्रस्तुत गरिन्छ । जाँच्ने क्रममा पाठ्यक्रम, शिक्षक निर्देशिका र विद्यार्थीको स्तरलाई आधार मानिन्छ । पावर प्वाईण्ट स्लाईड वा सामग्री अलि गलत हो कि भन्ने लागेमा प्रधानाध्यापकको नेतृत्वमा विषयगत विभागका प्रमुखहरु सदस्य रहने गरी ५ सदस्सीय ज्युरी टिम बनाइएको छ । त्यसको निर्णय अन्तिम हुन्छ तर त्यस्तो अवस्था अक्सर आँउदैन ।

बार्षिक शैक्षणिक योजना र ल्याकत परीक्षा समेत लिएर बनाइएको शिक्षण सुधार योजना जेठ महिनाको पहिलो हप्तामा विद्यालयमा संलग्न गराइ सक्नु पर्छ । दैनिक पाठयोजना वा पाठ्यक्रमले निर्दिष्ट गरेको सम्बन्धित पाठको उद्देश्यहरु समेत स्लाइडमा संलग्न रहेको पावर प्वाईण्ट स्लाइड मध्ये एक नहुने शिक्षक विद्यालयमा उपस्थित रहेकै भए पनि हाजिरीमा गयल जनाइन्छ ।

माध्यमिक तहसम्मका सबै विद्यार्थीको प्रत्येक बिषयको प्रोजेक्ट वर्कका दैनिक विवरणहरु हामी फरक फरक फाईलमा नत्थी गरि राख्छौं । अभिभावकहरु आउँदा हामी प्रत्येक बिषयको अघिल्ला र पछिल्ला दिनहरुका बालबालिकाको प्रगतीलाई तुलनात्मक रुपमा ब्रिफिङ गर्छौं । उसो त प्रत्येक अभिभावकहरु आफ्नो बालबालिकाको अवस्था बुझ्ने प्रयोजनले कम्तीमा बर्षमा ५ पटक विद्यालयमा आउनै पर्ने गरी नगरपालिकाले आफ्नो नगर भरिका सबै अभिभावकलाई परिचय पत्र बाँडेको छ । यो कार्यक्रम दोश्रो बर्षमा सञ्चालित छ र प्रभावी समेत देखिएको छ ।

माध्यमिक र आधारभूतको छुट्टाछुट्टै ब्लक छ । बाहिरबाट झट्ट हेर्दा, आधारभूत र माध्यमिकको ब्यवस्थापन नै झण्डै–झण्डै बेग्लै जस्तो देखिन्छ । तर हामीले सहपाठी शिक्षण भन्ने छुट्टै कार्यक्रम सञ्चालन गरेका छौं, जहाँ माध्यमिक तहका बिषयगत शिक्षकहरु तल्ला कक्षाका सोहि बिषयका कक्षामा हप्तामा एक घण्टी भिजिटिङ क्लास गर्छन् । सोहि प्रकरण धेर थोर आधारभूतबाट माध्यमिकमा समेत गर्ने गरिन्छ । यसो गर्दा शिक्षकहरु बीच निर्मित सोपानिक क्रमको मनोबैज्ञानिक रुपमा समाप्त भइ सबै बराबर हौं भन्ने धारणा विकास हुने रहेछ ।

कसरी कुन बिधि प्रविधिको प्रयोग गरी शिक्षण सहजीकरण गर्ने भन्ने बिषयमा अक्सर विषयगत समितिहरुमा छलफल हुन्छ र निक्र्यौलमा पुगिन्छ । हामीसंग नेपाली, अँग्रेजी, गणित–विज्ञान र सामाजिक गरि चार वटा बिषय समितिहरु छन् । प्रत्येक समितिहरुको बैठक कहिले कुन तरिकाले बस्ने भन्ने बार्षिक कार्य पात्रोले खुलाउँछ । यस्ता बैठकहरु अक्सर छुट्टीको दिन वा अतिरिक्त समयमा हुन्छ ।

विद्यालयमा भएको अर्को अभ्यास हो : साथी सहजीकरण कार्यक्रम । जहाँ माथिल्लो कक्षाका विद्यार्थीको तल्ला कक्षामा समुहगत प्रस्तुती रहन्छ । त्यसो गर्दा सबैलाई समान अवसर प्राप्त हुन्छ । त्यो नियमित हुन्न । कुनै बिषयको पाक्षिक त कुनैको मासिक/द्वैमासिक समेत हुन सक्छ तर कमसेकम माध्यमिक तहको एउटा विद्यार्थीले बर्षमा १२ वटा प्रस्तुती दिएकै हुनु पर्दछ ।

हामीले गरेको अर्को कार्यक्रम कक्षा शिक्षकको अवधारणा हो । जुन कक्षाको जिम्मा जुन शिक्षकले लिएको हुन्छ, उ नै सो कक्षाको जिम्मेवार व्यक्ति हुन्छ । अभिभावक सम्पर्क, भेला आदि सो कक्षाको हकमा कक्षा शिक्षकको नै जिम्मेवारी भित्र पर्दछ । यति सम्म कि गृहकार्य/प्रोजेक्ट वर्क गरे नगरेको जिम्मा समेत कक्षा शिक्षकले नै लिनु पर्छ । (उसो त शैक्षिक सत्रको सुरुमै अभिभावक भिजिट मार्फत बालबालिकाको यथार्थ आर्थिक–सामाजिक अवस्था पत्ता लागाइ सकिएको हुन्छ ।) जस्तै कक्षा १० मा अंग्रेजी बिषय शिक्षक कक्षा शिक्षक हुनुहुन्छ, म सामाजिक अध्यापन गर्छु तर सामाजिक बिषयको गृहकार्य वा परियोजना (प्रोजेक्ट) कुनै विद्यार्थीले ल्याउन असमर्थ भए म केहि भन्दिन/गर्दिन, कक्षा शिक्षकले नै समाधान गर्छन् ।

माथिल्ला कक्षाहरुमा कुन दिन कुन बिषयको प्रोजेक्ट/होमवर्क गर्ने भन्ने रुटिन विद्यार्थी आफैले निर्णय गरेर कक्षा कोठामा टाँसेका छन् । हामी शिक्षकहरु त्यसैलाई पछ्याउँछौं । सबै बिषयको सबै दिन प्रोजेक्ट/होमवर्क दिँदा पर्ने बोझ हटाउन यसो गरिएको हो ।

कक्षामा जाँदा शिक्षकले नै नमस्कार गर्दै छिर्छौं । बदलामा विद्यार्थी उठेर कसैले नमस्ते, कसैले सेवा, सेवारो कसैले खाम्री, खाम्रीमो कसैले जोजोलाप्पा, कसैले टाँसीदेले आदि सम्बोधन फर्काउँछन् । कक्षा कोठामा प्रयोग हुने बिशेषतः अँग्रेजीको क्लास रुम वर्ड/सेन्टेन्सहरु माथिल्लो कक्षाका सिनियरहरुले तल्ला कक्षाहरुमा सिकाउँछन् । यसो गर्दा सिकाइ प्रक्रिया सहज हुने गरेको हामीले पाएका छौं ।

प्रधानाध्यापकले कुनै कक्षा लिनु पर्दैन । दैनिक प्रशासनिक कामका अलावा विद्यालय परिसर देखि शौचालयको सरसफाइ एवं समग्र ब्यवस्थापनको जिम्मा प्रधानाध्यापकको हो । भौतिक व्यवस्थापनको जिम्मा विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा हुने गरेको छ ।

विज्ञानलाई प्रयोगात्मक ढंगले अध्यापन गराइन्छ । नगरपालिकाले विगत दुई बर्षदेखि हरेक बर्ष विज्ञान प्रदर्शनी गर्ने गर्छ । उक्त प्रदर्शनीमा दुवै बर्ष यही विद्यालयका विद्यार्थीले प्रथम स्थान हासिल गरे ।

विद्यालयमा अपनाईएका यी अभ्यासबाट भएको परिवर्तन आँखा अगाडी नै देख्न सकिन्छ । यूरोपका सार्वजनिक विद्यालयको अभ्यासका बारेमा उदाहरण दिने गरेको धेरै देख्न र सुन्न पाईन्छ । तर, यो विद्यालयले गरेको अभ्यासबाट भएको भौतिक र शैक्षिक सुधारले जो कोहीको दिमागमा परेको यूरोपको विद्यालयको चित्र मेटिन्छ भन्दा अन्यथा नहोला ।

कुनै विद्यार्थी पनि शिक्षकलाई पराई सम्झदैनन् । बालबालिका दिउँसो ४ बजे घर जाँदा बिहान विद्यालय आउँदा भन्दा बढी खुशी भएर फर्केको देख्न सकिन्छ । पहाडी भेगमा तल्ला कक्षाहरुमा बालबालिका छैनन् भन्ने समाचार आईरहेका छन् । तर यहाँ पूर्व प्राथमिकमा ५० जना भन्दा धेरै र प्राथमिक तहको प्रत्येक कक्षामा ३० जना भन्दा बढी विद्यार्थी छन् ।

शिक्षकहरुको थोरै मात्र सामुहिक प्रयत्न पनि परिवर्तनका लागि कति धेरै अर्थपूर्ण हुँदो रहेछ भन्ने उदाहरण हेर्न मन लाग्छ भने तपाईलाई स्वागत छ : श्री फिक्कल माध्यमिक विद्यालयमा !

source : EduKhabar

Leave a comment