इतिहास अन्वेषक भगिराज इङ्नामले नयाँ कृति ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ नामक कृति प्रकाशनमा ल्याएका छन् । मुन्धुम एकाडेमी प्रकाशक रहेको यस कृति असोज १८ गते चुम्लुङहिम, ललितपुरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला गायतले विमोचन गरेका हुन् ।
इङ्नामको अघिल्लो कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ले मदन पुरस्कार पाएको थियो । इतिहासकार इङ्नामका अनुसार अघिल्लो कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’मा नपरेका अभिलेख तथा दस्तावेज यसमा समेटिएका छन् । सङ्ग्रहित दस्तावेजमा सेन, शाह र सिक्किमे राजाहरूले पल्लो किरात, लिम्बुवानका लिम्बू, याक्खा, आठपहरियालाई राय, राए, राई सम्बोधन गरी प्रदान गरेका कागजातको सङ्कलन रहेको लेखकको भनाइ छ ।
पूर्वकुलपति काइँलाले यो किताबले दुई सय–तीन सय वर्षभित्रका कुराहरूको जानकारी दिने बताए । ‘हाम्रो राजनीतिक अवस्था, माजिक स्थिति, सांस्कृतिक स्थितिहरूका बारेमा यहाँ भएका टिपोट, लालमोहर, रुक्का, सनद, सवाल, कस्यरुक्का, आदि जो छन् तिनले मीलाइ यो बताउँछ’, उनले भने, ‘हाम्रो स्थिति के थियो? समाज कसरी चल्थ्यो भन्ने कुरा यी यहाँ सङ्ग्रहित गरिएका कागजपत्रले हामी बुझ्छौँ । हाम्रो सामाजिक चालचलन, हाम्रो सांस्कृतिक थितिहरूको कुराहरू हामी बुझ्छौँ ।’
इतिहासकार दिनेशराज पन्तले नेपाल सरकारको उच्च अधिकृतबाट सेवानिवृत्त भएपछि इङ्नामले गरेका कार्य सबै नेपालीका लागि अनुकरणीय भएको बताए । इतिहासका ताबहरू लेख्ने, सामग्री सङ्कलन गर्ने कामले लिम्बुवान क्षेत्रलाई मात्र नभई सम्पूर्ण नेपालका लागि अनुकरणीय कार्य भएको बताए ।
कार्यक्रममा वक्ताहरुले लिम्बू जाति÷जनजाति र लिम्बुवानको विषयमा, लिम्बुवानका अन्य जाति र जनजातिहरूको वषयमा व्यक्ति व्यक्तिमा, च्यातिएको अवस्थामा, फ्याँक्न लागेको अवस्थामा, घुन लागेर अथवा डढेर घरघरमा कतिपयले सङ्कलित गर्दागर्दै हराएका र सङ्कलित भएर रहेका सामग्रीहरूलाई सङ्कलन गरेर ल्याउनुभएको इतिहासको खोज यो समुदाय मात्र नभई सिङ्गो नेपालको इतिहासलाई इटा थपिएको बताए ।
लिम्बुवानको सामाजिक, सांस्कृतिक र राजकीय मामलामा अध्ययन गर्नेको लागि महत्वपूर्ण प्रकाशन भएको प्रकाशकले जनाएको छ । इङ्नामको अघिल्लो कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्गङ्ग्रह’ले मदन पुरस्कार पाएको थियो भने लेखक इङनामको ‘तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा’ र ‘लिम्बू जातिको इतिहास’ नामक पुस्तकहरु प्रकाशन भएका छन् ।०