विद्यार्थीलाई ६१ लाख छात्रवृत्ति, उच्च शिक्षा हासिल गर्ने अवसर


विद्यार्थीलाई ६१ लाख छात्रवृत्ति, उच्च शिक्षा हासिल गर्ने अवसर

भक्तपुर – ख्वप इञ्जिनियर कलेजका विद्यार्थीलाई ६१ लाख रूपैयाँ बराबरको छात्रवृत्ति दिइएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई उक्त रकम बराबरको छात्रवृत्ति दिइएको हो ।

ख्वप इञ्जिनियरिङ कलेजका ७२ जना विद्यार्थीलाई रु. ३२ लाख ९ सय र ख्वप कलेज अफ इञ्जिनियरिङका ६७ विद्यार्थीलाई रु. २९ लाख ३६ हजार गरी रु. ६१ लाख बराबरको छात्रवृत्ति रकम वितरण गरिएको कलेजले जनाएको छ ।

उनीहरूलाई भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले छात्रवृत्ति प्रदान गर्दै सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित कलेजले गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्न र विद्यार्थीलाई उत्साह प्रदान गर्ने बताए ।

उनले भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेका विभिन्न कलेजहरु मार्फत वार्षिक ४ करोड बराबरबको छात्रवृत्ति वितरण हुँदै आइरहेको बताए । सो अवसरमा उनले भने, शैक्षिक संस्थामा बन्द हड्तालको प्रभाव पर्नुहुँदैन भन्ने मान्यताले हामी अगाडि बढिरहेका छौं ।

कुनै पनि प्रकारका बन्द हड्तालमा भक्तपुरका शैक्षिक संस्था बन्द नहुने परिपाटि निरन्तर छ ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नंं ९ का वडाध्यक्ष तथा कलेज सञ्चालक समितिका सदस्य रबिन्द्र ज्याख्वले नगरपालिकाले हाल ८ वटा कलेज, ६ वटा शिशुस्याहार केन्द्र सञ्चालन गरिरहेको बताउँदै ख्वप विश्वविद्यालय सञ्चालनको अनुमतिको प्रतिक्षामा नगरपालिका रहेको बताए । त्यस्तै ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेज स्थापनाको उद्देश्य अनुसार निजी कलेजको तुलनामा झण्डै आधा शुल्कमा इञ्जिनियरिङ शिक्षाको अध्ययन अध्यापन गराउँदै आएको चर्चा गरे ।

ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य सुनिल दुवालले छात्रवृत्ति रकमको सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्दै नगरपालिकाको योगदानबाट सबै विद्यार्थी लाभान्वित भएको र भक्तपुरको दुवै इञ्जिनियरिङ कलेजले उत्कृष्टता हासिल गरिरहेको बताए । ख्वप इञ्जिनियरिङ कलेजका उपप्राचार्य रबिन्द्र फोँजुले कलेजले प्रदान गरेको छात्रवृत्तिले विद्यार्थीमा उत्साह थपेको, नयाँ नयाँ कुरा सिक्न प्रेरित गरेको र परीक्षाको नतिजामा समेत सकारात्मक प्रभाव परेको बताए ।